भदौमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रियो

-



     सफल आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असोज । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिना भदौमा नेपालमा ३ अर्ब ६१ करोड बराबरका स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार भदौमा मात्रै २ लाख ६२ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो ।

विभागले साउन र भदौ २ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार भदौ मसान्तसम्म समग्रमा ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको ४ लाख ३८ हजार ९८५ थान स्मार्टफोन आयात भएको देखिन्छ ।

सरकारले भदौ ३० गतेदेखि अवैध रुपमा भित्रिएका मोबाइल फोन चल्न नदिनेगरी एमडीएमएस प्रणाली लागू गरिसकेको छ । तथ्याङ्क अनुसार साउन र भदौ दुई महिनामा गरी विश्वका जम्मा ३९ देशबाट विभिन्न परिमाणमा स्मार्टफोन आएका छन् ।

सबैभन्दा बढी चीनबाट

तीमध्ये सबैभन्दा बढी चीनबाट ४ अर्ब २४ करोड १६ लाख ३८ हजार बराबरको ३ लाख ११ हजार ३९६ थान तथा भारतबाट १ अर्ब ७९ करोड ८१ लाख २८ हजार बराबरको १ लाख २५ हजार ३२५ थान स्मार्टफोन आएको देखिएको छ ।

भियतनामबाट २५ करोड हाराहारीको ७ सय थान, जाापनबाट २३ करोड हाराहारीको ४२० थान, यूएईबाट २८ करोड बराबरको ३१६ थान तथा अमेरिकाबाट २३ करोड बराबरको २५५ थान आयात भएका छन् । यस्तै अस्ट्रेलियाबाट ८५ थान, दक्षिण कोरियाबाट १६३, कतारबाट ७२, बेलायतबाट ३२ थान, हङकङबाट ५४ थान तथा साउदी अरेबियाबाट २१ थान भित्रिएको विवरणमा उल्लेख छ ।

मलेसियाबाट २८ थान, फिनल्याण्डबाट ३५ थान तथा कुवेतबाट १६ थान स्मार्टफोन आयात भएका छन् । यीबाहेक अन्य थुप्रै देशबाट विभिन्न परिमाणका १ देखि ९ थानसम्म स्मार्टफोन आयात भएको विवरण छ ।