उकालाे लाग्दै सेयर बजार, लगानीकर्ता उत्साहित

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ असाेज । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । १३ उपसमूहमध्ये दुईमा बाहेक बाँकी ११ वटामा हरियो लागेको छ ।

नीतिगत समस्या, बैंकहरुको ब्याजदर तथा सरोकार राख्ने निकायहरुबीचको आपसी अन्तरविरोध लगायतका घटनाक्रमले प्रभावित हुँदै आएको सेयर बजारको आजको सकारात्मक लयले लगानीकर्ताहरुमा केहि होला कि भन्ने आशा बढाएको छ ।

अर्काेकुरा पछिल्लाे पटक अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लिइरहेकाे ब्याजदरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएपछि लगानीकर्तामा उत्साह जागेकाे छ । ब्याजदरकाे अध्ययनका लागि अर्थमन्त्रालयले समिति गठन गरिसकेकाे छ ।

आर्थिक क्षेत्रमा देखिएका समस्या तथा व्यवसायमा परेकाे असरका बारेमा अध्ययन गरेर एक हप्तामा सुझाव दिनका लागि समिति पनि गठन भइसकेकाे छ । अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजक रहेकाे समितिले तरलता अभावलगायतका बारेमा सल्लाह गरेर सुझावसहित ७ दिनमा प्रतिवेदन बुझाउने भएाे छ । यसैकाे बारण पनि सेयर बजार हरियाेकाे संकेत देखिएकाे हाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९२ अंकले बढेको छ । यसरी बढेको नेप्से १८३१.०५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५४ अंकले बढेर ३५८.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । २१ लाख हजार ७४२ कित्ता सेयरको कारोबारबाट ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख ३१ हजार ४४७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।