राष्ट्र बैंक चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा केही लचक

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनमा केही लचक देखिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई केही लचकतासहित चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले गत भदौ ७ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै आगामी कात्तिक १ गतेदेखि कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर आज एउटा परिपत्र जारी गर्दै राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको बुँदा नम्बर ७ मा भएको व्यवस्था एक वर्षपछि मात्रै लागू हुने जनाएको छ ।

सो बुँदामा चालु पूँजी कर्जाको भेरियन्ससम्बन्धी व्यवस्था रहेको छ । यो व्यवस्थाको सुरुमै ऋणीले पेश गरेको विवरणको विश्लेषण गरेर वास्तविकता नजिक हुनेगरी मात्रै कर्जा दिनुपर्ने उल्लेख गरिएको छ ।

साथै अनुमानित वित्तीय विवरण वार्षिक रुपमा लिएर विश्लेषण गर्नुपर्ने र एकपटक विश्लेषण गरेर कर्जा स्वीकृत भएपछि भने लेखा परीक्षण भएको वित्तीय विवरणको आधारमा मात्रै कर्जाको सीमा पुनरावलोकन गर्न पाइने पनि उक्त बुँदामा समावेश छ ।

हालको परिपत्रमा लेखापरीक्षण भएको वित्तीय विवरण र अनुमानित वित्तीय विवरणको भेरियन्स एनालाइसिस गर्ने एक वर्षपछिबाट मात्रै कार्यान्वयन हुने समावेश भएकाले राष्ट्र बैंक केही लचक देखिएको बुझिन्छ ।

यसैगरी चालु पूँजी कर्जाको सीमा समायोजन गर्ने, पर्मानेन्ट वर्किङ क्यापिटलका लागि दिएको कर्जामा भेरियन्स एनालाइसिस पछि परिमार्जन गर्नुपर्ने व्यवस्था पनि एक वर्षपछि मात्रै कार्यान्वयन नहुने भएको छ ।