बिजी होल्डिङले लियो ई-कमर्स कम्पनी ग्यापुको स्वामित्व

-



     सफल आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ असोज । अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले प्राप्ति गरेको छ । लकडाउनका बेला खुलेको ग्यापुले नेपालभरी नै सामान डेलिभरी गर्दै आएको छ ।

ग्यापुले घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरी डेलिभर गरिरहेको छ । बर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ ।

ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सिइओको रुपमा नियुक्त गरेको छ ।

ग्यापुले अहिले दशैंलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ ।

यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

हाल ग्यापुमा १ हजारभन्दा बढी भेन्डर र ४ लाख बढी प्रडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजार भन्दा बढी  ग्राहक दर्ता भएर सेवा लिइरहेका छन् ।