पेट्रोलियमको मूल्य तत्काल नघट्ने

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असोज । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतबाट केही समययता नियमित रुपमा मूल्य घटेर आए पनि निगमले पुरानो नोक्सानी र आईओसीलाई तिर्नुपर्ने बक्यौता शून्यमा नआउन्जेल समायोजन नहुने बताउँदै आएको छ । अहिले पनि निगमले सोही निर्णयलाई निरन्तरता दिएको छ ।

यसबाट उपभोक्तावर्गमा भने लामो समयदेखि निराशा छाएको छ । लामो समयदेखि उपभोक्ता पेट्रोलियमको मूल्य घट्ला भन्ने आशमा रहे पनि निगमले घाटा र बक्यौता देखाउँदै समायोजन गरिरहेको छैन । आइतबार भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची उपलब्ध भएको छ जसमा केही पदार्थमा मूल्य थोरै बढेको पाइएको छ । तर पनि निगमलाई १५ दिनमा ३९ करोड रुपैयाँ नाफा रहेको बुझिएको छ ।

१५ दिनको यो परिमाणको नाफा देखिए पनि निगमले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो यसअघिको सञ्चित नोक्सानी कायमै रहेकाले त्यो शून्यमा नझरुञ्जेल मूल्य समायोजन नहुने प्रष्ट पारेको छ ।

आइतबार निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसा बढेर आएको छ । पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा रहेको देखिएको छ ।