१२.८१ अंकले घट्यो नेप्से, काराेबार ६४ करोडमा सीमित

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । सेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार सकारात्मक लयमा जान सकेन । यसले लगानीकर्ताकाे मनाेवल उच्च बनाउन मद्धत गरेन ।

मंगलबार सार्वजनिक बिदाको कारण कारोबार नभएको सेयर बजारमा सोमबार गिरावट भएको थियो । यसदिन दुई उपसमूह बाहेक ११ वटामा रातो लागेको छ । होटल तथा पर्यटन उपसमूह र म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले गिरावट भएको छ । यसदिन नेप्से १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स २.६६ अंकले घटेर ३६२.९६ विन्दुमा रहेको छ ।

कुल २१६ कम्पनीको सेयर कारोबार भएको छ । २१ लाख ५१ हजार ७१४ कित्ता सेयरको खरिदबिक्रीबाट ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसदिन १३ उपसमूहहरुमध्ये होटल तथा पर्यटन उपसमूह र म्युचुअल फण्डको सेयरमूल्य बढेको छ । बाँकी ११ वटै उपसमूहरुको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको कारोबार भएको छ । होटलको ३ करोड ७२ लाख १२ हजार ९३५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सेयर बजारकाे गिर्दाे क्रम अघिल्लाे वर्षबाटै हाे । फाट्टफुट्ट हरियाे लागेता पनि अक्सर बजार राताम्मै हुँदै आएको छ । नेप्सेमा सूचीकरण भएका कम्पनीहरुको सेयरमूल्यमा पनि गिरावट भइरहेकाे छ ।

एकातिर सेयरमूल्य घट्दाे छ भने बजारकाे तरलता हटेकाे छैन । उता बै‌ककाे ब्याजदरका कारण सेयर बजार प्रभावित भइरहेकाे छ। बैंकमा निक्षेप जम्मा भएपनि कर्जाकाे काम सुस्ताएकाे छ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ।  पिपुल्स पावर कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय १३ रूपैयाँ कायम भएकाे छ ।