ई-कमर्समार्फत् कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरी ई-कमर्समार्फत् ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा भदौ महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ७५ हजार ८६३ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात्  साउनको तुलनामा ३ हजार ९३९ ले बढी हो । साउनमा यो सङ्ख्या ७१ हजार ९२४ रहेको थियो ।

सामान्यतया: कारोबार संख्यामा आएको उतारचढाव अनुसार नै कारोबार रकममा पनि उस्तै तरिकाले घटबढ हुने गर्दछ । तर अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०७९ असारदेखि नै निरन्तर रुपमा ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या बढ्ने तर कारोबार रकम घट्ने प्रवृत्ति देखिँदै आएको छ ।

प्रतिवेदन अनुसार भदौ महिनामा ई-कमर्सको क्षेत्रमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो महिनाको तुलनामा ६ करोड ४० लाख रुपैयाँले कम हो ।

अघिल्लो महिना अर्थात् २०७९ साउन मसान्तसम्मा ई-कमर्समार्फत् ४८ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा एक महिनाको अवधिमा ६ करोड ४० लाख रुपैयाँले गिरावट आएर ३४ करोड रुपैयाँमा झरेको प्रतिवेदनमा उल्लेख छ । यसरी हेर्दा यो महिनामा पनि अघिल्ला २ महिनामा झैं कारोबार सङ्ख्या बढ्ने र कारोबार रकम घट्ने क्रमल् निरन्तरता पाएको छ ।