नयाँ स्टक लाइसेन्स प्रक्रिया स्थगित

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक लाइसेन्सको प्रक्रिया स्थगित गरेको छ । नयाँ स्टक लाइसेन्सका लागि भोलि मंगलबारसम्म आवेदन दिने म्याद तोकिएको छ । आज सोमबार बिहानसम्म नयाँ स्टकको लाइसेन्सका लागि कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले जनाएको छ ।

सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो । अदालतको आदेशकै कारण आवेदन नपरेको अनुमान गरिएको छ ।

आवेदन दिन तयार रहेका कम्पनीहरु पनि अदालतको आदेशका कारण अन्योलमा परेका छन् । बोर्डले पनि आवेदन बुझ्ने कि नबुझ्ने भन्ने विषयमा सोमबार बिहानसम्म कुनै निर्णय गरिसकेको छैन । कानुनी परामर्श गरिरहेको र आवेदन दिन पाउने मौलिक अधिकार भएकोले आवेदन सम्म बुझ्ने कि भन्नेमा पुगेको बोर्डले जनाएको छ । अन्य कुराहरु भने अदालतले भने अनुसार नै तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको बोर्डको भनाइ छ ।