३ महिनामा साढे ८ अर्बको स्मार्टफोन भित्रियो

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ३ महिनामा नेपालमा ८ अर्ब ५३ करोडभन्दा बढीका स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा ६ लाख १८ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो ।

विभागले साउन, भदौ र असोज गरी ३ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार असोज मसान्तसम्म समग्रमा ८ अर्ब ५३ करोड ३० करोड ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० थान स्मार्टफोन आयात भएको देखिन्छ ।

सरकारले भदौ ३० गतेदेखि अवैध रुपमा भित्रिएका मोबाइल फोन चल्न नदिनेगरी एमडीएमएस प्रणाली लागू गरिसकेको छ । यसै क्रममा असोज मसान्तसम्म विश्वका विभिन्न ४४ देशबाट विभिन्न परिमाणमा स्मार्टफोन भित्रिएको छ ।

सबैभन्दा बढी चीनबाट

तीमध्ये सबैभन्दा बढी चीनबाट ६ अर्ब १८ करोड ६६ लाख २९ हजार बराबरको ४ लाख ६८ हजार ४६१ थान तथा भारतबाट २ अर्ब १२ करोड ३८ लाख ५६ हजार बराबरको १ लाख ४६ हजार ८८० थान स्मार्टफोन आएको देखिएको छ ।

भियतनामबाट २ करोड ५५ लाख हाराहारीको ७ सय थान, जापानबाट ३ करोड २३ लाख हाराहारीको ५५८ थान, यूएईबाट ४ करोड ८३ लाख बराबरको ५२१ थान तथा अमेरिकाबाट ४ करोड ३२ लाख बराबरको ४५४ थान आयात भएका छन् । यस्तै अस्ट्रेलियाबाट १ करोड ९० लाख बराबरको १९९ थान, दक्षिण कोरियाबाट १ करोड ४२ लाख बराबरको २६० थान, कतारबाट ८९ लाख बराबरको ९८ थान, बेलायतबाट ५० लाख बराबरको ५७ थान, हङकङबाट ७३ लाख बराबरको ८० थान तथा साउदी अरेबियाबाट १४ लाख बराबरको २५ थान स्मार्टफोन भित्रिएको विवरणमा उल्लेख छ ।

मलेसियाबाट १७ लाख बराबरको ४० थान, फिनल्याण्डबाट ३६ लाख बराबरको ४९ थान तथा कुवेतबाट १६ लाख बराबरको ३१ थान स्मार्टफोन आयात भएको छ । यीबाहेक अन्य थुप्रै देशबाट विभिन्न परिमाणका १ देखि ९ थानसम्म स्मार्टफोन आयात भएको विवरण छ ।

यस्तै क्यानडाबाट २२ लाख बराबरको २२ थान, जर्मनी र पोर्चुगलबाट समान ८-८ थान, डेनमार्क र सिंगापुरबाट समान ७-७ थान, थाइल्याण्ड र बेल्जियमबाट समान ५-५ थान, फ्रान्स र नेदरल्याण्ड्सबाट समान ४-४ थान तथा पोल्याण्ड, नर्वे, माल्टा, इटली, आयरल्याण्ड र अस्ट्रियाबाट समान ३-३ थान स्मार्टफोन आएको तथ्याङ्क छ । यीबाहेक अन्य १४ देशबाट ३ हजारदेखि ५८ हजारसम्मा १ देखि २ सेट स्मार्टफोन नेपाल भित्रिएको पाइएको छ ।