अब वैदेशिक रोजगारीमा जानेलाई १० प्रतिशत सेयर छुट्याइने

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । अबदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा १० कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बोर्डका अनुसार उक्त निर्देशिका आज कात्तिक १७ गतेदेखि नै लागू हुनेछ ।

संशोधन अनुसार संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनु पर्ने व्यवस्था रहेको छ ।

यसरी छुट्याइएको सेयर निष्कासन गर्दा निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्कासन गर्नु अगाडि नै १५ दिनको अवधि तोकेर आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तो प्रयोजनका लागि निष्कासित गरेको सेयरमा आवेदन दिँदा आवेदकले अनुमति प्राप्त आस्वा बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स खाताबाट मात्रै आवेदन दिन सक्ने प्रावधान राखिएको छ ।