ग्लोबल आइएमई लघुवित्तको सहयाेगले कलशा देवी बनिन् उद्यमी

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



पर्सा, २० कात्तिक । कलशा देवी भारतको विहारमा जन्मिएकी हुन् । उन्नाईस वर्षको उमेरमा उनी पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ का सोनालाल साह कानुसँग बिहे गरेर नेपाल आइन् । बिहेअघि परिवारमा खासै दुख गर्नु नपरेका कलशा र सोनालालमा बिहेपछि पारिवारिक जिम्मेवारी थपिँदै गयो । उनी २२ वर्षको हुँदा कलशा देवीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । सन्तानको पालनपोषण र पढाईमा लाग्ने खर्च बढ्न थाल्यो ।

आम्दानीको श्रोत खासै राम्रो नभएको उनको आर्थिक स्थिति कमजोर बन्दै दैनिकी समेत चलाउन गाह्रो हुँदै गयो । उनीहरु सानो लगानीमा रहेको नास्ताको सानो होटल चलाउँथे । होटलले दैनिकी चलाउन केही सहज बनाएको थियो । तर भविष्यको लागि जोहो गर्न तथा बच्चाको लालनपालनमा आइपर्ने खर्च धान्न होटलको कमाइ पर्याप्त थिएन ।

यसै क्रममा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले पर्सा जिल्लाकै पोखरियामा आफ्नो कार्यक्रम विस्तार गरिरहेको कलशा देवीले थाहा पाइन् । त्यसपछि २०७५ साल भदौमा उनको आफ्नै गाउँ महुवनमा उनी लगायत १५ जना महिला दिदी बहिनीको समूह गठन गरियो ।

उनी आर्थिक श्रोतलाई उचित परिचालन गरेर व्यवसायी बन्ने र वित्तीय व्यवस्थापन गरेर भविष्यका लागि आर्थिक उपार्जन गर्ने उद्देश्यका साथ समूहमा आवद्ध भएकी थिइन् । कलशा देवीले सोही समूहको सामूहिक जमानीमा पहिलो कर्जाका रुपमा ६० हजार रुपैयाँ निकालेर आफ्नो नास्ता होटलमा लगानी गरिन् । 

६० हजार लगानी गरेर नास्ता होटलको स्तर केही उकासेकी कलशा देवीले केही समय घरधन्दा राम्ररी चलाउँदै आएकोमा कोरोना महामारीका कारण लकडाउन भएपछि व्यापार र आम्दानी ओरालो लाग्यो । कर्जा लिएर होटल विस्तार गरेको अनुभवले कलशा देवी र उनका श्रीमानलाई फेरि अलस धेरै कर्जा लिएर लगानी गर्न आँट दियो । उनीहरुले दोस्रो पटक समूहकै जमानीमा ग्लोबल आईएमई लघुवित्तबाट ३ लाख रुपैयाँ कर्जा लिए । उक्त कर्जाले होटलको सट्टा  किराना पसल खोल्ने उनीहरुले निर्णय गरे ।

दुवै जना मिलेर कलशा देवीले किराना पसलको व्यवसाय अगाडि बढाउँदै गएपछि आम्दानीमा वृद्धि भएर घर परिवार चलाउन पनि सहज हुँदै गयो । कलशा देवी भन्छिन्, ‘दुःखको समयमा ग्लोबल आइएमई लघुवित्त मेरो सहयात्री बनेको छ । आवश्यक परेको समयमा वित्तीय सहयोग गरेर आजको यो अवस्थामा ल्याउन ग्लोबल लघुवित्तले सहयोग गरेको छ ।’

यसरी व्यवसायले राम्रो प्रतिफल दिन थालेपछि उनले श्रीमानसँगको छलफलपछि घरेलु तथा साना उद्योगका रुपमा दर्ता गराएर अर्को व्यवसाय अगाडि बढाउने निर्णय गरिन् । त्यसपछि तेस्रो पटक ३ लाख रुपैयाँ कर्जा लिएर डि.के.फुड प्रोडक्ट नामबाट व्यवसाय चलाउन थालिन् । यो व्यवसायले राम्रै आम्दानी दियो । एक वर्षपछि प्याकिङ्ग गर्ने मेसिन खरिद गरेर उनले व्यवसाय अझै व्यवस्थित गर्दै लगिन् । बजारमा सामान ढुवानी गर्नका लागि उनीहरुले एउटा मोटरसाइकल पनि खरिद गरे ।

यसरी दुवै व्यवसाय फस्टाउँदै गएपछि परिवारको हौसला बढदै गयो । कलशा देवी आफनो परिवारलाई सुखी र सम्पन राख्न सकेकोमा सन्तोष मान्दै भन्छिन्, ‘दुःख र सुख जिन्दगीको दुई पाटो रहेछ । सुखलाई सबैले अंगाल्न चाहन्छन् तर दुःखको अनुभव गर्न भने गह्रो हुन्छ । मैले यसरी नै  जिन्दगीको दुःख र सुखलाई अनुभव गरी यहाँसम्म आएँ । यो काममा ग्लोबल आइएमई लघुवित्त हाम्रो सहयात्री बनेको छ । आशा छ, ग्लोबल आइएमई लघुवित्तले अगामी दिनमा मजस्ता हजारौं दिदीबहिनीलाई आर्थिक सहयोग गरी उद्यमी बनाउन सहयोग गर्नेछ ।’