नेप्से परिसूचक घट्यो, काराेबार साढे १ अर्ब नजिक

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ कार्तिक । नेप्सेकाे ओरालो यात्राले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयरबजार ओरालो लागेको छ ।

पछिल्ला दिनहरुमा बिक्रेता हाबी भएका कारण परिणाम यस्तो आएको सेयर बजारका खेलाडीहरु बताउँछन् । नजिकिएको निर्वाचनमा पार्टीहरूले खर्च गर्ने र सो रकम बैंकिङ प्रणालीमा आउने धेरैले अपेक्षा गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुको धमाधम लाभांश घोषणा तथा वित्तीय विवरण प्रकाशन भई रहेको बर्तमान अवस्थामा सेयर बजारमा चमक देखिएला भन्ने आकलन उल्टो भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको छ । नेप्सेमा २.०० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२३ कम्पनीहरुको सेयर कारोबार भएको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु सबैमा रातो लागेको छ । सबैको सेयरमूल्य घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको ६ करोड ७८ लाख २७ हजार ६१८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

अपर हेवाखाेला हाइड्राेपावरकाे सेयरमूल्य ७.४२ प्रतिशतले बढेर ३ सय ९१ रूपैयाँ पुगेकाे छ । एक्सेल डेभलपमेन्ट बैंककाे सेयरमूल्य सबैभन्दा धेरै ७.९५ प्रतिशतले घटेर ३ सय १ रूपैयाँमा झरेकाे छ ।