
काठमाडौं, ३० कात्तिक । लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको हो ।
यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो । अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर थियो । अमेरिकी डलरमा भने विनिमय सञ्चिति ०.६ प्रतिशतले घटेर ९ अर्ब ४८ करोड कायम भएको छ । अघिल्लो वर्षको अन्यमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भएर ११ खर्ब १ अर्ब ६० करोड पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा असोज मसान्तमा ९.३ प्रतिशतले कमी आएर १ खर्ब ४४ अर्ब ६२ करोड रहेको छ ।
चालु आवको पहिलो ३ महिनाकोे कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । विसं २०७८ साउनमा १३ खर्ब ५४ अर्ब ८२ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको थियो ।
केन्द्रीय बैंकका अनुसार अहिले विदेशी मुद्राको सञ्चिति १ महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । यो रकमले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विवरणमा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




