राष्ट्रिय औधाेगिक व्यापार मेला मंसिर १६ देखि २५ सम्म, स्थानीय उत्पादनलाई प्राथमिकता दिइने

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



पोखरा २ मंसिर । २० औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७९ यही मंसिर १६ देखि २५ गते सम्म आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाको तयारी तिब्र पारिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यसपटकको मेलामा स्थानीय उत्पादनलाई विशेष जोड दिइएको बताए । उद्यमी बन्न चाहनेहरुका लागि मेला स्थलमै तालिमको व्यवस्था समेत गरिएको उनको भनाइ छ । मेलाले औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि तथा कृषिजन्य उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सघाउने अध्यक्ष प्रजापतिले बताए ।

मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य गरी कुल २ सय ५० वटा स्टल रहने छन् । मेलामा हस्तकला, कृषिमेला, पुष्पमेला, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनी एवं दैनिक उपभोग्य वस्तु घरायसी सामान, लत्ताकपडा र श्रृंगारका समानहरुको विक्रि वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष एवं स्टल निर्माण व्यवस्थापन उपसमितिका संयोजक गोकर्ण कार्कीले जानकारी दिए।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमिति सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ ।

मेलाबाट १ करोड आम्दानी तथा ८५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत भएको १५ लाख रकम उद्यमशीलता प्रबर्धन तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने संघका महासचिव बलराम आचार्यले जानकारी दिए । मेला प्रवेशका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ टिकटदर कायम गरिएको छ । मेलालाई प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसले मुख्य प्रायोजन गरेको छ ।