नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा शाइन रेसुङ्गा अब्बल

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमामा सकारात्मक माहोल देखिएको छ । सूचकहरुमा हरियो लागेको भएपनि कारोबार रकम भने अर्ब नाघ्न सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा झिनो ०.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३ कम्पनीको कारोबार भएको छ । २५ लाख ६९ हजार २२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कारोबार भएको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार ४०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोश्रोमा हिमालयन डिष्टिलरी लिमिटेडको ६ करोड ८० लाख ४० हजार ७३० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ६ हजार ६६९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्थाको २ करोड ८१ लाख ३ हजार ९११ र पाँचौमा नबिल बैंक लिमिटेडको २ करोड ७० लाख ६ हजार ६७० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी कमाउनेमा घलेम्दि हाइड्रो लिमिटेडको ६.८३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने किसान लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले २.८९ प्रतिशतले गुमाएको हो ।