नियम विपरीत काम गर्ने यी बैंकहरू परे राष्ट्र बैंककाे कारबाहीमा

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । राष्ट्र बैंकले नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंककाे सुपरीवेक्षण विभागले कारवाही गरेको जनाइएकाे छ ।

राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका ती बैंकका खाताहरुबाट कारोबार शुरु गरेपछि कारवाही गरेको हाे । कारबाहीमा परेका बैंकहरुमा प्रभु बैंक, बैंक अफ काठमान्डू, कुमारी बैंक र प्राइम बैंक रहेका छन् ।

ती बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै कृषि विकास बैंकले सम्पति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन गरेकोले रुपैयाँ २० लाख जरीवाना गराइएकाे छ । 

कर्जा लगानी गरेपछि प्रिमियम दर बढाएकाे र छुट दिएकाेमा हिमालयन बैंक, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकलाई सचेत गराइएकाे छ । सनराइज र मेगा बैंकले बेस रेटभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेकाेले सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएकाे । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। 

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १५ (३) (५) मा भएको व्यवस्थाबमोजिम कुनै पनि कर्जा आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन भनिएकाे छ ।

याे व्यवस्थाको पालना नभएको देखिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सञ्चालक समितिलाई सचेत गराउने काम पनि राष्ट्र बैंकले गरेको छ।

नेपाल राष्ट्र बैंक विभागले जारी गरेकाे सूचना