४ महिनामा भित्रियो २ अर्बभन्दा बढीको ल्यापटप र नोटबुक

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा नेपालमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको कात्तिक महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा विश्वका २५ देश तथा नाम नखुलेको एक स्थानबाट २ अर्ब २२ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरका ३१ हजार ४१० थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई २७ करोड ४१ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ ।

सबैभन्दा धेरै चीनबाट ३० हजार २५७ थान आयात

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ३० हजार २५७ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको तथ्याङ्क छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य समग्रमा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यसपछि भारतबाट ५४ लाख ५७ हजार बराबरका १९२ थान, मलेसियाबाट १ करोड ८८ लाख ९६ हजार बराबरको ३३९ थान तथा जापानबाट ९४ लाख ५२ हजार बराबरका २३७ थान ल्यापटप तथा नोटबुक डिभाइस भित्रिएको छ । यस्तै अमेरिकाबाट १ करोड ३९ लाख ९९ हजार बराबरको १४६ थान, ताइवानबाट २१ लाख ५४ हजार बराबरका २५ थान, थाइल्याण्डबाट १५ लाख २३ हजार बराबरको ३२ थान, संयुक्त अरब ईमिरेट्सबाट २३ लाख ३२ हजार बराबरको ३८ थान, दक्षिण कोरियाबाट ९ लाख ११ हजार बराबरको १७ तथा सिंगापुरबाट १९ लाख ९३ हजार बराबरको २९ थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।

पोल्याण्ड र भियतनामबाट समान १०-१० थान यस्ता डिभाइस आएका छन् जसको मूल्य क्रमश: ९ लाख २६ हजार र ४२ लाख ७२ हजार रहेको छ । यसबाहेक अष्ट्रेलियाबाट ५ लाख ७८ हजार बराबरको ११ थान, बेलायतबाट ५ लाख ८४ हजारको ९ थान, नामिबियाबाट ७ लाख ३२ हजारको ४ थान तथा नर्वेबाट ५१ हजार बराबरको २ थान ल्यापटप डिभाइस आएको छ ।

यसैगरी हङकङ र कतार र कुवेतबाट समान २-२ थान, अष्ट्रिया, म्यानमार, जर्मनी, कतार, इटली र लिथुआनियाबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । यसबाहेक ३३ लाख ७१ हजार बराबरका ४० थान यस्ता डिभाइस पनि आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।