
बागलुङ, १४ मंसिर । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् ।
यामबहादुर मात्रै नभई सिगानाका अर्का किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान २ लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् । अर्का किसान लेखनाथ गौतमले १ लाख ८० हजारमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गरे । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यसपटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए । उनले गतवर्ष ३ लाखको सुन्तला बिक्री गरेकामा यसवर्ष ४ लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका छन् ।
उनका अनुसार किसानहरुले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफैं टिपेर बिक्री गर्ने गरेका छन् । ‘यस वर्ष केही नयाँ सुन्तलाका बिरुवाले उत्पादन दिए, सुन्तलामा औंशा कीराको प्रभाव कम देखियो गत वर्षको तुलनामा’, खड्काले भने, ‘१५ क्विन्टल सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेको छु, मूल्य राम्रो पाएपछि बिक्री गर्ने हो, अरु सुन्तला टिपेर सिधैँ पोखरा पठाउने लक्ष्य छ ।’
खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधै आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् । सुन्तला उत्पादनको आधा आफैं टिपेर पोखरा पुर्याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताए । उनको सुन्तला बगैँचामा लटरम्म सुन्तला पाकेका छन् ।
आफैं टिपेर पोखरा पुर्याउँदा नाफा बढी हुने उनको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताए । ‘बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो ४० देखि ४५ पर्न जान्छ, आफैं टिपेर लैजादा प्रतिकिलो ५० पर्न जान्छ’, उनले भने, ‘सुन्तलाका राम्रो दानालाई पोखरामा अहिले प्रतिकिलो १ सय ४० पर्न जान्छ, ढुवानी गर्नमै धेरै रकम खर्च हुन्छ, सुन्तला टिप्नेको ज्याला बढ्यो, तर सुन्तलाको मूल्य किसानको बगैँचामा बढेन ।’
सिगानाका किसानले सुन्तला बिक्रिबाटै वार्षिक २ देखि ३ करोड भित्र्याउँदै आएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यस वर्ष २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ भने सिगानामा राम्रो फल दिने १३ हजारभन्दा बढी बोट रहेका छन् ।
५ वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले बर्सेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ । उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निर्वतमान वडाध्यक्ष राजन जिसीले जानकारी दिए । सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् ।
सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन् ।
अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




