२१ करोडभन्दा बढीका इण्डक्सन र इन्फ्रारेड चुलो आयात

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा नेपालमा २१ करोड रुपैयाँभन्दा बढीको इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको कात्तिक महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा छिमेकी राष्ट्र चीन र भारतसहित संयुक्त अरब ईमिरेट्सबाट गरी २१ करोड ७२ लाख ३८ हजार रुपैयाँ बराबरका १ लाख १० हजार ९०३ थान इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको पाइएको छ । यी चुलोहरु आयात बापत सरकारलाई ३ करोड ७ लाख ४४ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ ।

सबैभन्दा धेरै चीनबाट ९३ हजार ७६६ थान आयात

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ९३ हजार ७६६ थान इण्डक्सन तथा इन्फ्रारेड चुलो आयात भएको तथ्याङ्क छ । यीमध्ये ४९ हजार ७४१ थान इण्डक्सन तथा ४४ हजार २५ थान इन्फ्रारेड चुलो रहेको छ । उक्त परिमाणको इण्डक्सन तथा इन्फ्रारेड चुलोको मूल्य समग्रमा १ अर्ब १७ करोड ४७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

यसपछि भारतबाट १७ हजार १३६ थान यस्ता इण्डक्सन तथा इन्फ्रारेड चुलो आएको छ । यीमध्ये १५ हजार १३५ इण्डक्सन तथा २ हजार थान इन्फ्रारेड चुलो रहेका छन् । यी इण्डक्सन तथा इन्फ्रारेड चुलोको समग्र मूल्य ४ करोड ७ लाख ७४ हजार रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ । यसपछि यो अवधिमा खाडी मुलुक संयुक्त अरब ईमिरेट्सबाट १७ हजार बराबरको १ थान इण्डक्सन चुलो आयात भएको पाइएको छ ।

नेपालमा बिजुली पर्याप्त उपलब्ध हुन थालेपछि केही समययता विद्युतीय सवारी, उपकरण तथा होम एप्लायन्सहरुको खपत निकै हुन थालेको छ । ग्याँसको विकल्पमा बिजुलीबाट चल्ने र यताउता लैजान सहज हुने भएकाले यस्ता इण्डक्सन तथा इन्फ्रारेड चुलो धेरैको रोजाईमा पर्न थालेको छ ।