१८औं संस्करणको लेखनाथ महोत्सव पौष ७ गतेदेखि १८ गतेसम्म आयोजना हुदै

- करिब १० करोडको कारोबार हुने अपेक्षा

-



     आरजू विष्ट सल्यानी    
     मंसिर १७ गते २०७९ मा प्रकाशित



पोखरा, १७ मंसिर । १८औं संस्करणको लेखनाथ महोत्सव २०७९ पौष ७ गतेदेखि पौष १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा आयोजना गरिने भएको छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि” मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना महोत्सव हुन लागेको हो ।

महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रालय र पोखरा महानगरपालिका सहआयोजक रहेका छन् भने नेपाल पर्यटन बोर्डले प्रवर्धन गरेको छ ।

महोत्सवकाे मुख्य प्रयोजकमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको सहप्रयोजन रहेको छ । कोभिड १९, रुस युक्रेन युद्ध लगायतका कारणहरुले वित्तीय क्षेत्रमा देखिएका तरलता अभाव, चर्को ब्याज बृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगि बन्ने संघका अध्यक्ष छत्रधर आत्रेयले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

महोत्सव गरेर आर्थिक गतिविधिलाई बढाउनु नै हो ।

संघका प्रथम उपाध्यक्ष तथा महोत्सव प्रचार समितिका संयोजक राजेन्द्र ओझाले भने, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवर्धन गर्न, स्थानय उत्पादन, लघु तथा घरेलु, साना उद्योगहरुको प्रवर्धन, आवश्यक ज्ञान सिप, उद्यमशिलता र प्रविधिको हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकका उत्पादित औद्योगिक, दैनिक उपभोग्य बस्तु र सेवाको प्रवर्धन हुन्छ ।

ओझाले महोत्सवमा विभिन्न जातीय भेषभुषा, कला र संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरीक तथा बाह्य पर्यटकहहरुलाई आकर्षण गर्ने र विशेष आन्तरीक पर्यटनलाई बढावा दिईने बताए ।

लेखनाथ महोत्सवमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदीवासि जनजाती विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंछी प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, शैक्षिक तथा हस्तकला प्रदर्शनी रहने भएका छन् ।

यस्तै जातजातीहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज र संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रतियोगिता, झाँकी र्याली, भेषभुष प्रदर्शनी, ख्याती प्राप्त कलाकारहरुको हाँस्यव्यंग्य, बालउद्यान, खाना महोत्सब, राष्ट्रिय लोक दोहोरी कार्यक्रम र युवाका लागि लक्षित लाईभ कन्सर्ट हुने भएको छ ।

महोत्सवलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ८ सदस्यीय निर्देशक समिति, ४६ सदस्यीय उपसमिति, संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सल्लाहकार समिति, १६० सदस्यीय कार्यसम्पादन समिति बनाईएको छ ।

यस्तै महोत्सवको लागि २ हजार सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । महोत्सवमा ३३७ वटा स्टल रहने भएका छन् । महोत्सबलाई दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

करिब १० करोडको आर्थिक कारोबार हुने

महोत्सवमा करिब १० करोडको आर्थिक कारोबार हुने आकलन गरिएको छ । यसबाट ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भएर रुपैयाँ १० लाख बचत हुने अनुमान गरिएको छ ।

महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको पहल, कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवर्धन लगायतका क्षेत्रमा खर्च गरिने भएको ।