
अमलेखगञ्ज, २५ मंसिर । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा थप पेट्रोल भण्डारण ट्याङ्की बनाउने भएको छ । गत २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजल ल्याउन सुरु गरेको निगमसँग पेट्रोल भण्डारणका लागि छुट्टै ट्याङ्की नभएका कारण थप गर्न लागिएको हो ।
एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनिभण्डारणका लागि छुट्टै ट्याङ्की नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या हुँदै आएको छ । अमलेखगञ्ज डिपोमा पेट्रोल र मट्टितेलका लागि भण्डारण गृह नहुँदा पाइपलाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको निगमले जनाएको छ ।
अमलेखगञ्जमा हाल डिजेल भण्डारणका लागि दुईवटा ४५ लाख लिटरका, एउटा ४१ लाख र अर्को ३९ लाख लिटरका ट्याङ्की उपलब्ध छन् । त्यहाँबाट हाल एकैपटक २१ गाडीले डिजेल भर्न सक्ने अवस्था रहेको छ । पाइपलाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल ल्याँउदा निगमलाई ढुवानीमा लाग्ने वार्षिक दुई अर्ब रुपैयाँ बचत हुँदै आएको छ ।
पेट्रोल र मट्टितेल ल्याउनका लागि आयल निगमले छुट्टै भण्डारण गृह बनाउन सुरु गर्न लागेको अमलेखगञ्ज डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए । ‘पेट्रोल भण्डारण गृह निर्माण गर्नका लागि हामी भारतीय निर्माण व्यवासायी कम्पनी र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसँग छलफल गरिरहेका छौं,’ उनले भने।
पेट्रोल भण्डारण गृह निर्माणका लागि निगम पदाधिकारीले शुक्रबार भारतीय निर्माण कम्पनी र आइओसी पटनाका प्रमुखसँग भेटेर छलफल गरेका छन् । पाइपलाइन बनाएर पूर्णरुपमा प्रयोग गर्नका लागि पेट्रोल भण्डारण गृह बनाउन लागिएको इन्जिनियर यादवले बताए । सन् २०२४ को जनवरीसम्म पेट्रोल भण्डारण गृह तयार हुने काम अगाडि बढाउन लागिएको जानकारी उनले बताए ।
डिजेलका लागि भारत सरकारको अनुदानमा भण्डारण गृह निर्माण गरिदिएको छ । पेट्रोल भण्डारणका लागि भने नेपाल आफैंले भण्डारण गृह बनाउन लागेको हो । त्यसका लागि १ अर्ब ५४ करोड भारु लगानी हुने निगमले जनाएको छ । यस्तै, भारतले पनि अनुदानस्वरुप ८० करोड भारुमा छुट्टै पेट्रोल ट्यांकी निर्माण गरिदिने भएको छ ।
अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएसँगै नेपाल आयल निगमको मासिक १२ देखि १५ करोड तथा वार्षिक १ अर्ब ५० करोड रुपैयाँ बचत हुनेछ । हाल अमलेखगञ्ज डिपोबाट डिजल, पेट्रोल काठमाडौंसहित पोखरा, भैरहवा, चितवन लगायतमा पठाउने गरिएको छ।
निगमका अमलेखगञ्ज प्रमुख यादव भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइपसमेत विस्तार गर्नेबारे परामर्श भइरहेको बताउँछन्। १२ अर्ब लागतमा ग्यास पाइप तथा स्टोरेजको काम हुने उनले बताए। नेपालबाट हाल ग्यास ढुवानी गर्दा वार्षिक ६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ।
निगम अमलेखगञ्जका मेकानिकल इन्जिनियर प्रशान्त भट्टराई अमलेखगञ्ज डिपोबाट देशको ७० प्रतिशत भूभागमा पेट्रोल, डिजल तथा मट्टितेल जाने गरेको बताउँछन् । ‘अमलेखगञ्ज डिपोबाट दैनिक ६० लाख लिटर डिजल तथा २० लाख लिटर पेट्रोल वितरण हुँदै आएको छ,’ उनले भने ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




