ब्याजदर घट्ने अपेक्षासँगै नेप्से १९०२.२८ विन्दुमा उक्लियो

-



     आरजू विष्ट सल्यानी    
     मंसिर २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सुधार देखिएको छ । वाणिज्य बैंकहरुले आगामी पुस महिनादेखि निक्षेपमा ब्याजदर घटाउने आकलन सेयर बजारमा गर्न थालिएपछि त्यसको सकारात्मक प्रभाव परेको छ ।

निर्वाचनका प्रक्रियाहरु सकिएर अब दलहरु सरकार गठनको आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । लगानीकर्ताहरु नयाँ बन्ने सरकार र नियुक्त हुने नयाँ अर्थमन्त्रीको कार्यशैली बजारमा सकारात्मक तरङ्ग पैदा गर्ने खालको होस् भन्ने अपेक्षामा रहेका छन् ।

काम चलाउन सरकारका अर्थमन्त्री र राष्ट्र बैंक बीचको द्वन्द, बजेटमा अनाधिकृत मानिसको हस्तक्षेप, नियामक निकायको अर्थतन्त्र सुधारका लागि भएका सुस्तता लगायतका कारणहरुले बजार नाजुक अवश्थामा पुगेको छ ।

कुनै समयमा २० अर्ब माथिको कारोबार भएकोमा २०२२ का अधिकांश कारोबारहरु १ अर्ब पुग्न पनि कठिन भयाे भने कारोबार रेसियो अर्बबाट आधा करोडसम्म पनि आएको थियो । लगानीकर्ताहरुले अब बन्ने सरकार बजार सुहाउँदो नीतिहरुका साथ अगाडी बढे सेयर बजारमा हरियालीको वातावरण छाउने अपेक्षा गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक साेमबार बजार बन्द हुँदाको समयमा पुग्दा १६.९७ अंकले बढेर १९०२.२८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९० प्रतिशतको बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेर ३७२.९३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २४५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४४ लाख ७० हजार ६२५ कित्ता सेयरको कारोबार हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ २ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये बैंकिङ उपसमूह बाहेक अरु सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको २१ करोड ३२ लाख ४१ लाख ६८२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा कुमारी बैंक लिमिटेड प्राेमाेटर सेयरको १० करोड ९८ लाख ७८ हजार ३७८ रुपैयाँ बराबरको कारोबार भएको छ । तेश्रोमा शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजार ४१५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा आशा लघुवित्त वित्तीय संस्थाको ५ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौमा ४ करोड ३५ लाख ६६ हजार ३८० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै सुमित लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को सेयरमूल्य ९.९३ प्रतिशतले घटेको छ ।