नाफिजको छैटौं महासभा जारी

-



     सफल आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको १३औं साधारणसभा तथा छैटौं महासभा जारी छ । उक्त साधारण सभा तथा महासभा लाजिम्पाटमा रहेको होटल ले हिमालयनमा आज बिहान ७:३० बजेबाट शुरु भएको हो । उदघाटन सत्रमा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले आफूहरुलाई छुट्टै रुपमा बुझ्ने गरेको भन्ने निजी क्षेत्रको बुझाइ गलत रहेको प्रस्ट्याए । उनले भने, ‘निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने कुरा अन्त्य हुनुपर्छ, निजी क्षेत्रको यो बुझाइ गलत हो । सरकार र निजी क्षेत्र साइकलका दुई पाङ्ग्रा हुन् । साइकल दुईवटा पाङ्ग्रा नभई गुड्दैन, त्यसैले निजी क्षेत्र र सरकार कसरी फरक–फरक हुन सक्छ।’

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अर्थतन्त्रको विषयमा उठाएको विषयलाई गलत व्याख्या गरिएको बताए । उनले अन्तरमन्त्रालय तथा विभाग बीच समन्वयको अभाव रहेको पनि थपे । उनले भने, ‘विकास निमार्णको अवसर भए पनि समन्वयको कारण समस्या भइरहेको छ, कोभिडपछि निजी क्षेत्रले धेरै समस्या भोगिरहेको छ ।’

पत्रकारहरु सम्मानित

महासभाको उदघाटन सत्रमा पत्रकारद्वय सन्तोष रोकाय तथा सम्झना घिमिरेलाई भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको छ । सम्मानित पत्रकार रोकाया विकासज्यूज डटकम तथा घिमिरे शिलापत्र डटकममा आवद्ध छन् ।

यसैगरी सञ्चारिका समूहका कोषाध्यक्ष तथा रेडियो सगरमाथाको नेतृत्व सम्हाल्ने पहिलो महिला पत्रकार उर्वशी बस्न्यात न्यौपाने नाफिज आर्थिक पत्रकार सम्मान २०७९ बाट सम्मानित भएकी छिन् ।

सम्मानित सबै पत्रकारलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । अहिले संघको नयाँ कार्यसमिति चयनका लागि बन्द सत्र चलिरहेको छ ।