अस्वभाविक भाडा वृद्धिप्रति पोखरा औद्योगिक क्षेत्रका उद्योगी आन्दोलित, वैज्ञानिक भाडादर कायम गर्न माग

-



     सफल आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित



पोखरा, २८ मंसिर । पोखरा औद्योगिक क्षेत्र उद्योग संघले सरकारले अस्वभाविक, असमान र विभेदकारी ढंगले जमिनको भाडा वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै ऐन कानून विपरित उद्योग तथा उद्योगीहरुका साथै देशको अर्थतन्त्रलाई नै धरासायी बनाउने गतल मनासयले गरिएको भाडा वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर समस्यमा रहेको अवस्थामा उद्योगहरुलाई बचाउन सहजीकरण गर्नुको साटो ७ सय प्रतिशत सम्म भाडा वृद्धि गरिनु उद्योगहरुलाई बन्द गराउने सरकारी नियत रहेको बताए ।

राज्यका जिम्मेवार निकायले कोभिड महामारीका साथै विश्वव्यापी आर्थिक मन्दीका कारण थला परेका उद्योगहरुको प्रवद्र्धनका लागि राहत योजना ल्याउनुपर्नेमा अव्यवहारिक रुपमा गरिएको भाडावृद्धिको खारेजीको माग गर्दै उनले समान र वैज्ञानिक भाडादर कायम हुनुपर्नेमा जोड दिए । व्यवस्थापन पक्षले निर्णय फिता नलिए संघले थप सशक्क्त आन्दोलन गर्ने समेत उनले चेतावनी दिए ।

प्रदेश उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपानेले सरकारले अव्यवहारिक ढंगले भाडावृद्धि गरेर उद्योगीहरुलाई आतंकित पार्ने काम गरेको भन्दै असन्तुष्टि जनाए । औद्योगिक क्षेत्र व्यवस्थापन समितिलाई कसरी मुनाफामा लैजाने भन्ने सरकारी ध्येयका कारण उद्योगीहरु सडकमा उत्रनुपरेको उनको भनाइ छ । उनले आन्दोलनप्रति परिसंघको पनि ऐक्यवद्धता रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं संघका सल्लाहकार गोकर्ण कार्कीले बैंकिङ तरलता, कोभिड लगायतका कारण उद्योगी व्यवसायीहरु समस्यामा रहेका समयमा राज्यले दुःख दिने काम गरेको बताए । वैज्ञानिक भाडादर कायम भए व्यवसायीहरु भाडा तिर्न तयार रहेको उनको भनाइ छ । नियमन निकाय नै आवश्यक नरहेको कार्कीले बताए । निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न समेत पछि नपर्ने उनको भनाइ छ ।

संघका प्रथम उपाध्यक्ष रुद्रलाल श्रेष्ठले कच्चा पदार्थदेखि हरेक बस्तुमा महंगी बढेर उद्योग धन्दाहरु सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो गरे । उद्योगीलाई हतोत्साही बनाउने काम बन्द गर्न समेत उनले माग गरे । संघका द्धितिय उपाध्यक्ष दीपेन्द्र बस्ताकोटीले उद्योग तथा कलकारखानाहरुको सुरक्षाका लागि बस्दा समेत त्यसलाई बाहिर अतिरञ्जित गरिएको गुनासो गरे । परिसरभित्र रहेको अक्सिजन प्लान्ट उद्योग सञ्चालनका लागि भएपनि कोभिडका समयमा विभिन्न हस्पिटलहरुलाई सहयोग गरेको उनले स्मरण गरे ।

बन्द भएका केहि उद्योगहरुकोे उदाहरण दिँदै उनले सरकारको अपरिपक्व निर्णयका कारण अन्य उद्योगहरुले पनि सोही नियति भोग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । व्यवस्थापन कार्यालयबाट गत कात्र्तिक २९ गते असार २२ को निर्णयको हवला दिँदै २०७५ साउन १ देखि कायम गरिएको करिब ७ सय प्रतिशत सम्मको भाडवृद्धि र प्रत्येक आर्थिक बर्षमा ५ प्रतिशतले बार्षिक भाडा वृद्धिसहितको रकम दाखिला गर्न भनेपछि उद्योगीहरुले आपत्ति जनाएका हुन् ।

विरोध स्वरुप संघले पहिलो चरणको आन्दोलन अन्तर्गत मंसिर २५ गते सबै उद्योगमा एकल भाडादर तथा वार्ता र सहमतिमा उद्योगमैत्री भाडादर निर्धारणको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेको थियो ।

वि.सं. २०३१ सालमा नेपाल सरकारको लगानीमा स्थापना भएको औद्योगिक क्षेत्र ५ सय १ रोपनी क्षेत्रफलमा फैलिएको छ । ७७ वटा उद्योगमा ३ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यो क्षेत्रको राजश्वमा बार्षिक करिब ५० करोड योगदान रहेको छ । सरकारले एकतर्फी ढंगले भाडादर वृद्धि गरेको भन्दै देशका अन्य औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरु पनि आन्दोलित छन् ।