१ अर्ब माथिको लगानीमा हिमालयन हस्पिटालिटी होटल बन्ने

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



काठमाडौं,३ पुष । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल १ अर्ब ३५ करोड लागतमा निर्माण हुने उक्त होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

होटलमा कोठाका अतिरिक्त रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा २ सय शय्या हुनेछन् । जसमा ८ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो ।

होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् ।

होटलमा अपाङ्गता भएका व्यक्तिहरुका लागि ब्यायामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।