कालिका पावरले लाभांश पारित गर्न डाक्याे साधारण सभा

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । कालिका पावर कम्पनी लिमिटेडले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेकाे छ। कम्पनीकाे साधारण सभा यही पुसकाे २९ गते चितवनकाे भरतपुरमा रहेकाे रजिष्टर्ड कार्यालयमा डाकिएकाे हाे । साे सभा पूर्वान्ह ११ बजेदेखि शुरु हुने जनाइएकाे छ।

साधारण सभाबाट चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरणकाे प्रस्ताव पारिने भएकाे छ । साथै कर प्रयाेजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांशसहित १५.७८९५ प्रतिशत लाभांशकाे प्रस्ताव पारित हुनेछ ।

यस्तै साधारण सभाले गोरखाकाे दरौदी खोलामा प्रस्तावित ८.३ मेगावाटको माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना तथा ९.८२ मेगावाटको माथिल्लो दरौदी सि साना जलविद्युत आयोजना खरिदका बारेमा कामहरु अघि बढाउन त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन गर्नेछ।

यस्तै सभाबाट लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने, सर्वसाधारण सेयरधनीहरुबाट २ जना सञ्चालककाे चयन गर्ने र एकजना स्वतन्त्र सञ्चालक चयन गरिने भएकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते बुकक्लोज हुने जानकारी दिएकाे छ। यसका लागि सेयरधनीहरुले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन्।