लालबन्दीबाट ५ महिनामा ८३ करोडको तरकारी निकासी

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



सर्लाही, २० पुस । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०७९/८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मंसिर मसान्तसम्ममा १६ करोड ५७ लाख ६ हजार ७ सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

साथै आव २०७८/७९ को अन्तिम असारमा ५५ लाख ५० हजार २ सय किलो तरकारी निकासी गर्दा २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँ आएको व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए ।

उनका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा ५५ लाख ९१ हजार किलो तरकारीबाट २० करोड २ लाख १ हजार ७ सय ५०, भदौमा ४२ लाख ९२ हजार ६ सय किलोको १८ करोड ८५ लाख ५२ हजार ५ सय, असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको २७ करोड ८० लाख ८३ हजार १ सय २५, कात्तिकमा १५ लाख ३३ हजार ९ सय किलोको ९ करोड ६३ लाख ७८ हजार २ सय ५० र मङ्सिरमा २५ लाख ९७ हजार ४ सय किलोको ७ करोड १० लाख ६८ हजार ४ सय ५० रुपैयाँ प्राप्त भएको हो ।

आव २०७९/८० को साउन १ गतेदेखि मङ्सिर मसान्तसम्म गरी ५ महिनामा १६ करोड ५७ लाख ६ हजार ७ सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेंडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फुलकोभी, बन्दा कोभी, घिरौंला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाजर, भिन्डी, परबल, रूख कटहर, वल, फर्सी, धनियाँको पात, कागती, उदुवा, मटरकोसा, प्याज र भेँडेखुर्सानी गरी १६ करोड ५७ लाख ६ हजार ७ सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रुपैयाँ सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै परवल करिब १ करोड किलो निकासी भएको छ भने सबैभन्दा कम सिमी, रूख कटहर, धनियाँको पात, कागती, फर्सी, मटरकोसा, हरियो प्याज, वल, भिन्डी र झिँगनी निकासी भएको छ ।