चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, व्यवसायीको सकस सम्बोधन होला ?

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं,  २० पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा केही संशोधन गरेको छ । निजी क्षेत्रका व्यवसायीहरु तथा छाता संगठनका प्रतिनिधिहरुले पटक पटक अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरसमक्ष ब्याजदर घटाउन र चालु पुँजी कर्जा मार्गदर्शनलाई व्यवहारिक बनाउन आग्रह गर्दै आएकामा आज केन्द्रीय बैंकले उक्त मार्गदर्शनमा केही संशोधन गरेको हो ।  

राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ट्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । मुख्यगरी चालु पुँजी कर्जाको समयसीमा र कर्जा रकमको सीमा व्यवस्थापनसँग सम्बन्धित विषयमा संशोधन भएको उनको भनाइ छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डितले संशोधित मार्गदर्शनले मुख्यगरी पुरानो कर्जालाई पुनःकर्जा र पुनःतालिकीकरण नगर्ने तथा आवधिक कर्जा मानेर भुक्तानी गर्न सकिने गरी नयाँ प्रावधान ल्याइएको बताए ।

“कुनै ऋणीको यो मार्गदर्शन लागू हुनुभन्दा पहिलेको ऋणलाई विभिन्न कर्जा शीर्षकमा मिलान गर्नुपर्ने भएमा त्यसलाई पुनः तालिकीकरण तथा पुनःसंरचना भएको मानिने छैन । त्यसका लागि छुट्टै वर्गीकरण र ‘प्रोभिजनिङ’ गर्नु नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ,” उनले भने । चालु पुँजी कर्जा मार्गदर्शनले भनेका शीर्षकमा कर्जा मिलान गर्दा थप भार नपर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

यो मार्गदर्शन कार्यान्वयनमा आउनुभन्दा अघि कुनै ऋणीले साबिकको व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा अधिक कर्जा उपयोग गरिरहेको भएमा त्यस्तो ऋणलाई आवधिक कर्जाका रुपमा कायम गरेर समायोजन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यसरी समायोजनपछि कायम हुन आउने आवधिक कर्जालाई ५ वटा किस्तामा भुक्तान गर्नुपर्ने र त्यसको समयावधि २०८० असारदेखि शुरु भएर २०८२ असार मसान्तसम्म रहनेछ ।

तोकिएको सीमाभन्दा बढीको कर्जालाई आवधिक कर्जा मानेर यो समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था संशोधित मार्गदर्शनमा राखिएको तर कुनै ऋणीले २०८२ असार अघि नै सबै ऋण भुक्तानी गर्न चाहेमा अग्रीम भुक्तानी शुल्क ९प्रिपेमेन्ट चार्ज० नलिने पनि राष्ट्र बैंकले जनाएको छ ।

हालै गरिएको संशोधन अनुसार १ करोडभन्दा तलको चालु पुँजी कर्जाको हकमा यो मार्गदर्शन लागू हुने छैन । बैंकका अनुसार यो मार्गदर्शन २ करोडभन्दा माथिको कर्जाको हकमा मात्र आकर्षित हुनेगररी व्यवस्था मिलाइएको छ ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

त्यसबाहेक अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग बमोजिम गभर्नर अधिकारीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई के कसरी सहजीकरण गर्न सकिन्छ त्यसै अनुरुप गर्न अनुरोध गरेका थिए । उक्त अनुरोधपछि गभर्नर अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यस्तै मंगलबार नै राष्ट्र बैंकका पदाधिकारीहरुले नेपाल बैकर्स एसोसिएसनका पदाधिकारीसँग पनि छुट्टै भेटघाट गरेका थिए । भेटघाटका क्रममा गभर्नर अधिकारीले व्यवसायीको माग अनुसार चालु पुँजी कर्जा मार्दर्शनलाई कार्यान्वयनमा लचिलो बनाउन केही संशोधन गर्ने संकेत गरेका थिए । उक्त संकेतपछि आज सेयरबजारमा पनि सकारात्मक लहर आएको छ ।

अघिल्लो सरकारका पालामा यो विषयमा निकै कठोर बन्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार आएपछि केही लचिलो भएका हुन् । यसअघिको शेरबहादुर देउवाको पालामा गभर्नर अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबीच राम्रो सम्बन्ध नभएका कारण गभर्नर अधिकारी यस विषयमा लचिलो भएका थिएनन् । तर हाल एमालेको तर्फबाट सरकारमा नेतृत्व गरेर जाने विष्णुप्रसाद पौडेल उपप्रधानसहित अर्थमन्त्रीको रुपमा अगाडि आएपछि उनले चालु पुँजी कर्जाको नियम केही लचिलो बनाउन सहमत रहेको इंगित गरेका थिए । यसबाट निजी क्षेत्र निकै आशावादी पनि देखिएको थियो ।