बिहिबार सेयर बजारमा करेक्सन, ५ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ पुस । केहि दिन उकालो लागेको सेयर बजारको यात्रामा बिहिबार ब्रेक लागेको छ । नयाँ सरकार बन्ने बित्तिकै सेयर कारोबारमा ह्वात्तै बृद्धि हुन थालेपछि ब्रेकको संकेत देखिएको हो । लगानीकर्ताहरुले बढी नाफा कमाउने अवस्था र क्रय बिक्रयमा बढोत्तरी भएपछि करेक्सन भएको आकलन गरिएको छ ।

बैंकहरुमा व्याजदर घटाउने निर्णय ढिलो आउनुको कारणले पनि बजारलाई प्रभाव पारेको बुझिएको छ । तर बैंकको ब्याजदर घट्नु भनेको सेयर बजारको लागि फाइदाको विषय हो ।

यतिबेला बजार सकारात्मक बन्दै गएकोले एक दुई दिनको करेक्सन देखिएपनि उकालो लाग्ने अपेक्षा बढेको छ । सरकारले पनि सेयर बजारको सुधारको लागि प्रतिबद्ध भएको बताउँदै काम गरिरहेको बताईरहेको छ ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ । नयाँ सरकार बनेपछि सकारात्मक लयमा गईरहेको सेयर बजारमा साताको अन्तिम कारोबारको दिन सुखद् बन्न सकेन । नेप्सेमा भारि मात्रामा गिरावट भएको छ । कारोबार रकम सन्तोषजनक रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.८७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.८९ अंकले घटेर ४११.२५ विन्दुमा पुगेको छ ।

यसदिन २५२ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये एउटा बाहेक सबैको रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । एक मात्र हरियो लागेको व्यापार उपसमूह रहेको छ । यस समूहतर्फ १५.८७ अंकको बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख १२ हजार १३१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाको सेयरमूल्य बढेको छ । योजनाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.१८ प्रतिशतले घटेको छ ।