
काठमाडौं, २ माघ । चालु आर्थिक वर्षको शुरुवाती ६ महिनामा पुँजीगत खर्च १४ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्षका लागि लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा बजेटको अर्धवार्षिक समीक्षा अवधि अर्थात् पुस मसान्तसम्ममा यस अन्तर्गत ५३ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको कुल बजेट खर्च ३२ दशमलव १३ प्रतिशत मात्रै देखिएको छ । तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेकोमा ६ अर्ब हाराहारीमात्र खर्च भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ३८ दशमलव ४६ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब १२ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ । यसैगरी वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ विनियोजन भएकोमा २९ दशमलव ४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ रुपैयाँ खर्च भएको देखिएको छ ।
राजस्व संकलनतर्फ पनि प्रवृत्ति उस्तै देखिएको छ । आर्थिक वर्षको ६ मिहनामा वार्षिक लक्ष्यको ३३ दशमलव ९३ प्रतिशत मात्रै राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । तर आर्थिक वर्षको आधा बितिसक्दा जम्मा ४ खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ ।
केही समय यता सरकारले सवारी साधन, मोबाइल र मदिरालगायतका बढी आयात हुने सामाग्री आयातमा प्रतिबन्ध लगाएकाले सरकारको राजस्व असुली प्रभावित भएको आकलन गरिएको छ । यसबाट आयात घटेर व्यापार घाटामा केही सुधार आए पनि कर राजस्वतर्फ सरकारले ४ खर्ब ५ अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ ५३ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ मात्र सङ्कलन गर्न सकेको हो ।
वैदेशिक अनुदानतर्फ पनि प्रगति निकै सुस्त देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । तर हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




