‘डबल डिजिटको आर्थिक विकासका लागि सिंगल डिजिटको ब्याजदर हुनुपर्छ’

-



     सफल आवाज    
     माघ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ माघ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्र चलायमान हुने छ भन्ने विश्वास लिएको छ । एक वर्ष अघिदेखि नेपाल राष्ट्र बैंकले आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आइरहेकोमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास लिएको चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले बताए ।

चेम्बरले आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’  बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझाबबारे चेम्वरबाट सुझाव प्रस्तुत गरेको र लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा चेम्बरले आभार प्रकट गरेको महानिर्देशक बजिमयले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकबाट जारी भएको ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ परिमार्जन गरि २०८२ असारसम्म पुर्याइएकोमा स्वागत गर्दै चेम्बरले चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गर्न र  डबल डिजिटको आर्थिक विकास हाशिल गर्न सिंगल डिजिटको ब्याजदर कायम हुनु पर्ने तर्फ पनि विशेष आग्रह गरेको छ ।

तरलता व्यवस्थापनका लागि पुँजीगत खर्चमा वृद्धि तथा ब्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत चेम्बरले राखेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजीगत खर्चको ९० देखि ९५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि ध्यानाकर्षण गराउन चाहेको चेम्बरको भनाइ छ ।