सरकारले सुरु गर्यो ब्याजदर घटाउने पहल

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । सरकारले बैंकको ब्याजदर घटाउन पहल सुरु गरेको बुझिएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ब्याजदर घटाउने विषयमा छलफल भइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्योग सम्मेलनमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने पहल भइरहेको र यसलाई वाञ्छित सीमाभित्र राखिने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर धेरै पक्षसँग जोडिएको हुने र राष्ट्र बैंकको आफ्नै तरिका रहेको बताउँदै मन्त्रालयले हस्तक्षेप नगर्ने बरु बैंकसँग जीवन्त सम्बन्ध राख्न तयार रहेको जानकारी दिए ।

उनले आफूहरु राष्ट्र बैंकसँग ब्याजदरको विषयमा छलफलमा रहेको प्रस्ट्याउँदै पछिल्लो दिनमा ब्याजदर कम हुँदै गएको संकेत देखिन सुरु भएको मैले महसुस गरिरहेको पनि बताए ।

मन्त्री पौडेलले साना तथा मझौला उद्योगको क्षेत्रमा रहेका समस्या समाधान र यो क्षेत्रमा गर्नुपर्ने कामका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा उनले भने, ‘केही नीतिगत अस्पष्टता रहेको छ । महासंघले आयोजना गरेको कार्यक्रमबाट यसको निष्कर्ष निस्किने अपेक्षा गरेको छु।’

अर्थमन्त्री पौडेलले कुल उद्योगमध्ये ९० प्रतिशत साना तथा मझौलारहेकाले यसबाट यो क्षेत्रको महत्त्व कति छ भन्ने प्रस्ट भएको बताए । उनले यो आकारमा निकै सानो र महत्त्वका हिसाबले निकै महत्त्वपूर्ण छ भएको बताउँदै प्रक्रियागत झन्झट धेरै रहेको र अपारदर्शी झञ्झटबारे सुझाउन आग्रह गरे । यस्ता झञ्झट सुधार गर्न सरकार तयार रहेको बताउँदै उनले राजस्व प्रशासनमा कसैले दुख दिए आफूलाई खबर गर्न आग्रह गरे ।