सिर्सिया भन्सारबाट लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व उठ्यो

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


पर्सा, ११ माघ । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा ३२ अर्ब ३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपाने जानकारी दिए । कार्यालयको चालु आवमा रु ६७ अर्ब ४३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

सो भन्सार कार्यालयले आव २०७८-७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको ९६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको न्यौपानेको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेटजस्ता वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको उनी बताउँछन् ।

गत आवभन्दा चालु आवको राजस्व सङ्कलन लक्ष्य बढी भएको र आयात घटेकाले राजस्व सङ्कलन प्रभावित भएको भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । यसबाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ गरिएकाले राजस्व सङ्कलन घटेको उनको भनाइ छ । सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने भण्डारी बताउँछन् ।