मोबाइल एप र क्यूआर कोडबाट अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । अबदेखि मोबाइल एप तथा क्यूआर कोडबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने भएको छ । हालै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न पाइनेमा अब यो सीमा बढाएर ३ लाख पुर्याइएको हो ।

सोही निर्देशनले वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढाएको छ । यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म रहेकोमा अब बढेर दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ । यस्तो कारोबारको मासिक सीमा भने १० लाख नै कायम गरिएको छ ।

यो निर्देशनले एउटा वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाएको छ । यसअघि एउटा वालेटबाट अर्को वालेटमा दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेमा अब भने यो सीमा घटेर ५० हजारमा आएको छ । यस्तै वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था पनि गरेको छ ।

अबदेखि भुक्तानी सेवा प्रदायकले रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी ल्याउन पाउने भएका छन् ।

वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क केही घटाइएको छ । यसअघि ५ देखि २० रुपैयाँसम्म शुल्क रहेकोमा अबदेखि भने ५ हजारसम्मको कारोबारमा ५ रुपैयाँ, ५ देखि १० हजारसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजारमाथिको कारोबारमा १० रुपैयाँ सेवा शुल्कमात्र दिन पाइने व्यवस्था गरिएको छ ।

यसबाहेक एजेन्टमार्फत वालेटमा ५ हजारसम्म रकम राख्दा र झिक्दा ५ रुपैयाँ शुल्क काटिने भएको छ । तर यो रकम ५ देखि १५ हजारसम्म भए १५ रुपैयाँ र १५ देखि २५ हजार रुपैयाँसम्म भए २५ रुपैयाँ शुल्क लाग्ने बनाइएको छ । वालेटबाट बैंकमा रकमान्तर गर्नका लागि १० रुपैयाँ शुल्क तोकिएको छ ।