यस्ताे छ सेयर धितो कर्जाकाे रु १२ करोडकाे सीमा हटाउन लगानीकर्ताले दिएकाे सुझाव

-



     सफल आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० माघ । लगानीकर्ताहरुकाे तीन संघ, संगठनले सेयर धितो कर्जामा लगाइएकाे रुपैयाँ १२ करोडकाे सीमालाई हटाउन चारवटा सुझाव दिएका छन्। 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ, नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागलाई पत्र लेख्दै साे सीमा हटाउन सुझाव दिएका हुन् ।

उनीहरुले रुपैयाँ १२ करोडकाे सेयर कर्जाको सीमाका कारण सेयर बजारका लगानीकर्ताकाे मनाेबल घटाएकाेले उक्त व्यवस्थालाई फिर्ता लिन पत्रमा सुझाव दिइएको छ। 

चालु आर्थिक वर्ष २०७९–८० को साउन १ गतेदेखि सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम अनुरोध गरिएकाे छ। 

ब्याजदर उच्च भएकाेले पुनरावलोकन गरी एकल अंकमा कायम गर्न सुझाव दिइएकाे छ । ‘तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन अनुरोध गर्दछौँ’, सुझावपत्रमा लेखिएकाे छ। 

सुझावपत्रमा नेपाल स्टक एक्सचेन्जमार्फत खरिदबिक्री हुँदै आएको सेयर बजार ३२०० अंकभन्दा माथिको परिसूचकलाई पार गरेर हाल २०९० को हाराहारीमा स्खलित भइसकेको उल्लेख छ।

‘सेयर बजारको पुँजीकरण करिब ४५ खर्बभन्दा बढी पुगिसकेको अवस्थामा हाल आएर ३० खर्बको तल्लो अंकमा झरिसकेको छ’, पत्रमा लेखिएकाे छ, ‘करिब १५ खर्बको नोक्सानीले हामी लगानीकर्ताको मनोबल गिर्न गई आफ्नो सम्पत्तिको नोक्सानीले अत्यन्त मर्माहत र दुःखि भएका छौँ।’

‘पुँजीबजार देशको अर्थतन्त्रको ऐना हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै लगानीकर्ताहरुले यस क्षेत्रमा लगानी गरे पनि राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभूति नपाएको पत्रमा उल्लेख छ।

‘नेपाल राष्ट्र बैंकबाट वर्तमान समयमा पुँजीबजारलाई तत्काल हामी सुझावहरुलाई सम्बोधन गरी खस्किँदो अवस्थामा रहेको पुँजीबजारलाई पुनरुत्थान गरिदिन आग्रह गर्दछौँ’, पत्रमा भनिएको छ।