सुनचाँदी रत्न तथा आभूषण महासंघको नवौं वार्षिक साधारणसभा चितवनमा हुने

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



पोखरा, २५ माघ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । उक्त कार्यक्रम आगामी माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए ।

‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’

उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तीव्रता दिने बताए । ‘संघीयताको भावना अनुसार महासंघलाई अगाडि बढाउन साधारण सभाले पहिलो पटक संघीयताको मर्मअनुसार विधान संशोधन गर्दै छौं, विधान संशोधनसँगै साधारण सभाले चिवतन घोषणा पत्र समेत जारी गर्नेछ’, महासचिव सुनारले भने ।

‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ मुख्य नारा लिएको नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले कानूनहरुको पूर्ण पालना गर्दै व्यवसायलाई स्वच्छ र पाददर्शी बनाएर प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्ने र सम्मानित व्यवसायी भएको अनुभूति गर्न सक्ने अवस्थाको सिर्जना गर्ने अभियान रहेको महासंघको भनाइ छ ।

महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणको उद्घाटन बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गर्ने कार्यक्रम तय भएको छ ।

साधारणसभामा भरतपुर महानगरपालिकाका प्रमुख रेनुका दाहाल, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लगायत अतिथिहरुको तथा देशभरका २ सय बढी संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने महासंघले जनाएको छ ।