
झापा, २७ माघ । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो ।
एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए। करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बंैकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उनले जानकारी दिए।
“आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ”, उनले भने, “परियोजनालाई चाहिने आवश्यक सामग्री निर्माणाधीन स्थलमा आइरहेको छ ।” परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुने उन बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता भइसकेको उनको भनाइ छ । पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल रहेको छ ।
त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि इनर्जी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरिसकेको छ । भट्टराईले परियोजनामा उच्च प्रविधियक्त सोलार प्यानल तथा उपकरण जडान गरिने बताए। उनले नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भइसकेको बताए।
सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक रु १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गत वर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।
नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पु¥याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए। विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने बताए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




