पर्यटक बढेसँगै चन्द्रागिरी हिल्सको खुद नाफामा वृद्धि

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । चन्द्रागिरी हिल्स लिमिटेडकाे खुद नाफामा बृद्धि भएकाे छ । यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा गत आर्थिक वर्षकोभन्दा बढेकाे हाे ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीकाे नाफा ५ करोड १४ लाख रुपैयाँ रहेकाे छ। गएकाे आर्थिक वर्ष यही अवधिमा कम्पनीको नाफा ५८ लाख रुपैयाँ ऋणात्मक देखिएकाे थियो।

कम्पनीकाे वित्तीय विवरणका अनुसार आन्तरिक पर्यटकहरुको भ्रमण भएकाे वृद्धिकाे कारण कम्पनीको आर्थिक काराेबार पनि बढेकाे जनाइएकाे छ । यसैकाे कारण कम्पनीको व्यवसाय हुनमा सहयाेग पुगेकाे जनाइएकाे छ। याे समयमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पनि बढेकाे र पर्यटकीय क्षेत्हरु चलायमान भएकाे उल्लेख छ ।

कम्पनीको सञ्चालन आम्दानी ४१.१३ प्रतिशतले बढेको देखिन्छ। कुल आम्दानी ५१.०१ प्रतिशतले बढेको छ । अन्य आम्दानी १३९.९१ प्रतिशतले बढेको पाइएकाे छ।

कम्पनीले गरेकाे नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको जनाइएकाे छ। गएकाे वर्ष यही समयमा ७६ पैसा ऋणात्मक रहेको कम्पनीको याे आम्दानी यस आर्थिक वर्षमा बढेर ६ रुपैयाँ ७१ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६४ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १९४.३३ गुणा रहेको छ।