ब्याजदर पूर्ण रुपमा बुझेरमात्रै कर्जा लिन राष्ट्र बैंकको अनुराेध

-



     सफल आवाज    
     फागुन ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरेर ब्याजदरका बारेमा पूर्ण रुपमा जानकारी लिएरमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सबैमा आग्रह गरेको छ। 

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले साे एक सूचना जारी गरेर पूर्ण रुपमा जानकारी लिएरमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सबैमा आग्रह गरेको हाे । बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने जनाएकाे छ। 

निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ। 

महाशाखाद्वारा जारी गरिएकाे सूचनामा स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन भनिएकाे छ । यस्तै निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन भनिएकाे छ। 

बैंकले जारी गरेकाे सूचनामा अनुसार ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेरमात्र कर्जा उपयोग गर्नुपर्ने जनाइएकाे छ ।