
काठमाडौं, १६ फागुन । भारतले नेपालबाट थप बिजुली खरिद गर्ने भएको छ । यसका लागि हालै नेपाल विद्युत प्राधिकरणले ५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्न ४ जलविद्युत आयोजनाको नाम भारत पठाएको छ ।
हालसम्म प्राधिकरणले दैनिक विद्युत बजार (डे-अहेड मार्केट) को आधारमा बिजुली बिक्री गर्दै आएको छ । यसै प्रसंगमा प्राधिकरणले ५ वर्षका लागि ती ४ आयोजनाको बिजुली बिक्रीका लागि नाम पठाएको बताइएको छ ।
प्राधिकरणले नाम पठाएका आयोजनामा ८६ मेगावाटको सोलुखोला (दुधकोसी), ३६ मेगावाटको अपर बलेफी, २२ मेगावाटको माथिल्लो चाकु-‘ए’ र २८ मेगावाटको तल्लो लिखु रहेका छन् ।
नाम पठाइएका ४ मध्ये सोलुखोला जलविद्युत आयोजना साहस ऊर्जाले प्रवर्द्धन गरेको आयोजना हो। सोलुखुम्बुको सोलुखोलामा निर्माण भएको यो आयोजनाले गत माघ २७ गतेबाट उत्पादन थालेको हो । यसलाई निजी क्षेत्रले स्वदेशी पुँजीमा निर्माण गरेको सबैभन्दा ठूलो आयोजना पनि मानिन्छ । यो नदी प्रवाहमा आधारित अर्थात् आरओआर प्रकृतिको आयोजना हो ।
यसैगरी अपर बलेफी जलविद्युत आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफीमा नदीमा निर्माण भएको छ जसको प्रबर्द्धक बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड हो ।
यसै प्रसङ्गमा नामसूचीमा रहेको चाकु-‘ए’ जलविद्युत आयोजना सिन्धुपाल्चोकको साविक फुलपिङकट्टी र मार्मिङ गाविसमा निर्माण भएको छ । यसको प्रववर्द्धक निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेड रहेको छ ।
यस्तै तल्लो लिखु जलविद्युत आयोजनाको प्रवर्द्धक श्वेत गंगा हाइड्रो एण्ड कन्ट्रक्सन लिमिटेड रहेको छ । सानिमा ग्रुपको कम्पनी रहेको यसले रामेछाप र ओखलढुंगामा आयोजना निर्माण गरेको छ ।
प्राधिकरणले अल्पकालीन मात्र नभई दीर्घकालीन पीपीएका लागि पनि नाम पठाउने तयारी गरेको बुझिएको छ । मिड टर्मका लागि पठाइसकेको र अब दीर्घकालीन पीपीएका लागि पनि नाम पठाउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।