ल्यापटपको प्रयोग बढ्दो, ७ महिनामा साढे ३ अर्बको आयात

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित


काठमाडौं, १६ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा साढे ३ अर्बभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका ३३ देश तथा नाम नखुलेको एक स्थानबाट ३ अर्ब ६० करोड २ लाख ९० हजार रुपैयाँ बराबरको ५४ हजार २०३ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई यो अवधिमा ४७ करोड १३ लाख ८० हजार रुपैयाँ राजस्व आम्दानी भएको छ ।

सबैभन्दा धेरै चीनबाट ५२ हजार २४४ थान आयात

चालु आर्थिक वर्षको माघ मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ५२ हजार २४४ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको तथ्याङ्क छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य समग्रमा ३ अर्ब ४८ करोड ३० लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यसपछि मलेसियाबाट ३ करोड १८ लाख ३४ हजार बराबरको ५६६ थान, जापानबाट १ करोड ३९ लाख ७६ हजार बराबरका ३०६ थान तथा भारतबाट ७९ लाख ४७ हजार बराबरका २ सय थान ल्यापटप तथा नोटबुक डिभाइस भित्रिएको छ । यस्तै अमेरिकाबाट २ करोड १ लाख २९ हजार बराबरको २५६ थान, सिंगापुरबाट ९१ लाख ४० हजार बारबरका १५१ थान, थाइल्याण्डबाट ३६ लाख २६ हजार बराबरको ७२ थान, संयुक्त अरब ईमिरेट्सबाट ३६ लाख ५३ हजार बराबरको ५१ थान, ताइवानबाट ६८ लाख ३२ हजार बराबरका ६६ थान, दक्षिण कोरियाबाट ३९ लाख ३६ हजार बराबरको ६५ तथा बेलायतबाट १३ लाख ३८ हजार बराबरको २० थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।

अष्ट्रेलियाबाट ८ लाख ७७ हजार बराबरको २० थान, भियतनाम र इजिप्टबाट समान ३०-३० थान तथा फिलिपिन्स र पोल्याण्डबाट समान १०-१० थान यस्तो डिभाइस आएको छ । यिनीहरुको मूल्य क्रमश: ५६ लाख ६० हजार, १० लाख ११ हजार तथा २ लाख २ हजार र ९ लाख २६ हजार रहेको छ । यसबाहेक हङकङबाट ३ लाख १८ हजारको ६ थान तथा कतारबाट समान १ लाख २२ हजार बराबरको ७ थान डिभाइस आयात भएको छ ।

यसैगरी नामिबाियाबाट ७ लाख ३२ हजार बराबरको ४ थान तथा नेदरल्याण्ड्सबाट २ लाख १० हजारको ६ थान, बेल्जियम र नर्वेबाट यो अवधिमा समान २-२ थान डिभाइस आयात भएको छ । यसरी आएका डिभाइसको मूल्य क्रमशस् ९८ र ५१ हजार हजार रुपैयाँ रहेको छ ।

यसबाहेक कुबेतबाट १ लाख २० हजारको ३ थान, म्यानमार, जर्मनी, क्यानडा, अस्ट्रिया, लिथुआनिया, रोमानिया, इटली तथा इजरायल, पोर्चुगल, रोमानिया तथा स्विडेनबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । नाम खुलेका यी देशबाहेक ६१ लाख ७१ हजार बराबरका ६६ थान यस्तो डिभाइस आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।