
काठमाडौं, १६ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा नेपालमा १४ अर्ब ७६ करोडभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिमा १० लाख ५ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो ।
विभागले साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघ गरी ७ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ मसान्तसम्म समग्रमा १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ५ हजार १३५ थान स्मार्टफोन आयात भएको देखिन्छ । माघ मसान्तसम्म विश्वका विभिन्न ६१ देशबाट विभिन्न परिमाणमा स्मार्टफोन भित्रिएको पाइएको छ ।
सबैभन्दा बढी चीनबाट
तीमध्ये सबैभन्दा बढी चीनबाट ९ अर्ब ८३ करोड २३ लाख १ हजार बराबरको ७ लाख १० हजार ६६७ थान तथा भारतबाट ४ अर्ब १३ करोड ५१ लाख ७३ हजार बराबरको २ लाख ८२ हजार ७२० थान स्मार्टफोन आएको देखिएको छ ।
भियतनामबाट ३ करोड ७९ लाख हाराहारीको ३ हजार २ सय थान, जापानबाट ६ करोड ५८ लाख हाराहारीको ९८८ थान, यूएईबाट १२ करोड ३६ लाख बराबरको २ हजार २४२ थान तथा अमेरिकाबाट ११ करोड २५ लाख बराबरको १ हजार ९१ थान आयात भएको छ ।
यस्तै अस्ट्रेलियाबाट ६ करोड २२ लाख बराबरको ५९५ थान, दक्षिण कोरियाबाट ३ करोड ४२ लाख बराबरको ५९३ थान, कतारबाट २ करोड ८ लाख बराबरको २३० थान, बेलायतबाट १ करोड ४१ लाख बराबरको १५२ थान, हङकङबाट १ करोड ९७ लाख बराबरको १९४ थान तथा साउदी अरेबियाबाट ३४ लाख ९ हजार बराबरको ४४ थान स्मार्टफोन भित्रिएको विवरणमा उल्लेख छ ।
यो अवधिमा मलेसियाबाट ४७ लाख ४० बराबरको ७८ थान, फिनल्याण्डबाट ५४ लाख ३ हजार बराबरको ६४ थान तथा सिंगापुरबाट ३२ लाख ५१ हजार बराबरको ५१ थान स्मार्टफोन आयात भएको छ । यस्तै क्यानडाबाट ४२ लाख ६ बराबरको ४० थान, नेदरल्याण्ड्स, फ्रान्स, थाइल्याण्ड र न्युजिल्याण्डबाट समान १०-१० थान, पोर्चुगलबाट १२ थान तथा डेनमार्कबाट १४ थान आयात भएको छ ।
जर्मनीबाट ९, ताइवानबाट ७, र बेल्जियम, इजरायल, नर्वे र माल्टाबाट समान ५-५ थान, पोल्याण्ड, स्विडेन, माल्दिभ्स र आयरल्याण्डबाट समान ४-४ थान, इटलीबाट ७ थान आएको तथ्याङ्क छ ।
यसैगरी पोर्टो रिको र अस्ट्रियाबाट समान ३-३ थान, स्विजरल्याण्ड, युक्रेन, स्पेन, रोमानिया, नाउरु र साइप्रसबाट समान २-२, बंगलादेशबाट ६ थान स्मार्टफोन आएको तथ्याङ्क छ । यीबाहेक अन्य १८ देशबाट ५ देखि ५० हजारसम्मका १-१ सेट स्मार्टफोन नेपाल भित्रिएको पाइएको छ ।