
काठमाडौं, १७ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफले सन् २०२२/२३ का लागि मुलुकको वृद्धिदर प्रक्षेपण गरेको हो जुन सरकारको आकलनभन्दा झण्डै आधा रहेको छ ।
आइएमएफले विस्तारित कर्जा सुविधा (इसीएफ) को पहिलो र दोस्रो किस्ताको समीक्षामाथि छलफल गरेर यस्तो प्रक्षेपण रहेको जानकारी गराएको हो । नेपालले उपयोग गरेको विस्तृत कर्जा सुविधा (इसीएफ)ले अर्थतन्त्रलाई करिब ५ प्रतिशत र मुद्रास्फीति करिब ६ प्रतिशतको हाराहारीको वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
बढेको मुद्रास्फीतिलाई राष्ट्र बैंकको ७ प्रतिशत लक्ष्यमा ल्याउन र अन्तर्राष्ट्रिय सञ्चितिमा अनावश्यक दबाब नराखी अर्थतन्त्रलाई बढ्न दिन सतर्क मौद्रिक नीति तर्जुमा भएको बुझिएको आइएमएफले जनाएको छ ।
छलफलमा कोषले नेपाल राष्ट्र बैंकलाई ऋणको उचित निरीक्षण र खस्किएको कर्जा गुणस्तरको प्रभावबारे नजिकबाट अनुगमन गर्ने आवश्यकता रहेको पनि औंल्याएको छ । सार्वजनिक संस्थानहरूको पारदर्शीता र वित्तीय अनुगमनले वित्तीय जोखिमहरू कम गर्न सक्ने सुझाव कोषको रहेको छ।
कोषले छलफलमा विश्वव्यापी अर्थतन्त्र अनिश्चितता तर्फ धकेलिएको साथै नेपाल अस्थिर र उच्च विश्वव्यापी महँगी दरसँगै प्राकृतिक प्रकोप र मौसम परिवर्तनशीलता जस्तो समस्याको चपेटामा रहेको ठम्याएको छ ।