
काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेशनले ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतबाट आज नेपाल आयल निगमलाई प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।
भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ २१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ नेपाल आयल निगमले जनाएको छ । यस्तै मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको छ भने हवाई इन्धनमा पनि प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको छ ।
भारतीय आयल निगमले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा घटबढ भएको मूल्य अनुसार समायोजित मूल्य सूची पठाउने गर्दछ । सोही सूची अनुसार नेपाल आयल निगमको नाफा घाटा तथा नेपालमा मूल्य समायोजन गर्नु पर्ने नपर्ने जस्ता सूचकहरु निर्क्योल हुन्छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार आज आएको मूल्यसूची अनुसार सबै ईन्धनको भाउ घटे पनि खाना पकाउने एलपी ग्यासको भाउ भने प्रति सिलिन्डर ३ सय ३९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।
यो नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा निगमलाई ४४ करोड रुपैयाँ नाफा हुने देखिन्छ । १५ दिन अघिको मूल्यसूची अनुसार निगमलाई १५ दिनमा लगभग ७३ करोड रुपैयाँ नाफा भएको थियो ।
सहप्रवक्ता कार्कीले हाल भारतलाई तिर्न बाँकी बक्यौता रकम १६ अर्ब ३० करोड रुपैयाँ रहेको र निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि आन्तरिक बजारमा मूल्य समायोजन नगरी भारतलाई तिर्न बाँकी रकम घटाइरहेको हो । यस हिसाबले तत्काल नेपाली बजारमा ईन्धनको भाउ समायोजन हुने देखिँदैन । यद्यपि यसबारेमा आधिकारिक धारणा भने निगमको सञ्चालक समितिको बैठकपछि मात्र हुनेछ ।