
काठमाडौं, १७ फागुन । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन ल्यान्ड’का रुपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको हुँदा आगामी दिनमा भौतिक पूर्वाधार निर्माणलगायत अन्य विकासका गतिविधिले तीव्रता पाउने बताए । ‘त्यसैले निर्माण सामग्री उद्योगका लागि नेपालमा ठूलो अवसर छ,’ उनले भने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले सरकारले निकासी सम्भावनाबाट लाभ लिनेगरी साविकको व्यापार नीतिको पुनरवलोकन गर्न लागेको जानकारी दिए । नेपालको विकासको चरण आफैंमा सिमेन्ट र स्टिल उद्योगका लागि चालक शक्ति रहेको बताउँदै उनले देश विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा आगामी दिनमा विकास, निर्माणका गतिविधि बढेर सिमेन्ट स्टिल जस्ता वस्तुको माग बढ्ने बताए ।
कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपाललाई अवसरको ‘भर्जिन ल्यान्ड’ भन्दै यहाँ स्थानीय र अन्तर्राष्ट्रिय दुवै लाभ रहेको बताए । उनले नेपाल भारत र चीनबीचको स्यान्डवीच मात्र नभएर स्यान्डवीचको क्रिम भएको टिप्पणी गरे । नेपाललाई अत्यन्तै राम्रो भ्रमण गन्तव्य भन्दै उनले वैवाहिक कार्यक्रमका लागि यहाँ आउन पनि विदेशीलाई आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि पूर्वाधार विकास र उद्योगको लागि नेपाल ‘भर्जिन ल्यान्ड’ रहेको बताए । सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीलाई आग्रह गरेका मल्लले प्राकृतिक स्रोतमा आधारित उद्योग स्थापनामा जोड दिए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादन क्षमता मागभन्दा ३ गुणा बढी पुग्दा माग र आपूर्तिबीच ठूलो खाडल बनेर सिमेन्ट उद्योगहरु अहिले समस्यामा रहेको बताए । उनले सिमेन्टको आन्तरिक माग बढाउन सडकहरुलाई कालोपत्रेको सट्टा ढलान गर्नुपर्ने बताए ।
भारतमा सिमेन्ट निकासीमा रहेका प्रक्रियागत झन्झट हटाउनुपर्नेमा जोड दिएका थापाले सिमेन्ट उद्योगमा प्रत्यक्ष विदेशी लगानी रोक्न पनि आग्रह गरे । ‘नयाँ उद्योगलाई अनुमति दिने काम पनि रोक्नुपर्छ,’ उनले भने ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रकुमार पाण्डेले निर्यात प्रवद्धनका लागि ढुवानी र लजिस्टिकको लागत घटाउनुपर्ने बताए ।
२५० भन्दा बढी प्रतिनिधि सहभागी दुईदिने सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुनेछ ।
प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको समिटमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल रहेका छन् । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप रहेका छन् ।
समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




