७ महिनामा पौने २ अर्बको राउटर आयात

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती ७ महिनामा पौने २ अर्ब रुपैयाँ बराबरको इन्टरनेट राउटर आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ अर्ब ७७ करोड १५ लाख ४२ हजार बराबरको राउटर आयात भएको पाइएको छ ।

उक्त अवधिसम्म झण्डै २ अर्ब हाराहारीको ४ लाख ६९ हजार ३४ थान राउटर आयात भएकोले नेपालमा इन्टरनेट प्रयोगको प्रवृत्ति बढ्दो रहेको देखाउँछ । भन्सार विभागको उक्त तथ्याङ्क अनुसार नेपालमा ७ महिनामा १६ ओटा मुलुकबाट विभिन्न परिमाणमा राउटर आयात भएको देखिन्छ ।

समग्रमा राउटरको आयात बढ्दै गएको देखिए पनि तुलनात्मक हिसाबले हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको माघ मसान्तसम्म राउटरको आयातमा ९७ करोड ८१ लाख ४८ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा २ अर्ब ७४ करोड ९६ लाख ९० हजार बराबरको राउटर आयात भएको थियो ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल भित्रिएकामध्ये सबैभन्दा बढी राउटर चीनबाट आएको छ । यो अवधिमा चीनबाट धेरै १ अर्ब ७३ करोड ३९ लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ५८६ थान राउटर आयात भएको छ । यसपछि ताइवानबाट ९६ लाख ८१ हजार बराबरको १ हजार २२९ थान राउटर भित्रिएको छ ।

यसैगरी हङकङबाट ६३ लाख ६० हजार बराबरको ३ हजार १९४ थान राउटर आयात भएको छ । भारतबाट २२ लाख ६१ हजार बराबरको ६४३ थान, लात्भियाबाट २६ लाख ७५ हजार बराबरको ३०९ थान, यूएईबाट ६४ हजार बराबरको १७ थान, अमेरिकाबाट २२ लाख ६९ हजार बराबरको १६ तथा १ करोड ३५ लाख ख७४ हजार बराबरको १४ थान राउटर आएको छ । उक्त परिमाणको राउटर आयातबापत सरकारले यो अवधिमा ३३ करोड ४ लाख १३ हजार राजस्व संकलन गरेको छ ।