७ महिनामा ४ अर्ब हाराहारीको अलकत्रा आयात

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती ७ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको अलकत्रा आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा ३ अर्ब ८५ करोड ५२ लाख ४२ हजार बराबरको अलकत्रा आयात भएको पाइएको छ ।

मुख्यगरी सडक तथा राजमार्गमा कालोपत्रे गर्नका लागि प्रयोग हुने उक्त पदार्थ ७ महिनाको अवधिमा ४ अर्ब हाराहारीको ५ करोड ११ लाख ७९ हजार ४८२ किलोग्राम भित्रिनुका पछाडि देशभर भइरहेका सडक निर्माण तथा स्तरोन्नतिको कामले पाएको तीव्रतालाई बुझाउँछ । भन्सार विभागको उक्त तथ्याङ्क अनुसार नेपालमा ७ महिनामा ४ ओटा मुलुकबाट विभिन्न परिमाणमा अलकत्रा आयात भएको देखिन्छ ।

समग्रमा अलकत्राको आयात बढ्दै गएको देखिए पनि तुलनात्मक हिसाबले हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको माघ मसान्तसम्म अलकत्राको आयात ४४ करोड ९९ लाख ६१ हजार रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ४ अर्ब ३० करोड ५२ लाख ३ हजार बराबरको अलकत्रा आयात भएको थियो ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल भित्रिएकोमध्ये सबैभन्दा बढी अलकत्रा भारतबाट आएको छ । यो अवधिमा भारतबाट ३ अर्ब ५ करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ५ लाख ८७ हजार २८९ थान अलकत्रा आयात भएको छ । यसपछि बहराइनबाट ३७ करोड ५१ लाख ९८ हजार बराबरको ५० लाख १ हजार ४५२ किलो अलकत्रा भित्रिएको छ ।

यसैगरी मलेसियाबाट ३१ करोड २८ लाख ६८ हजार बराबरको ४२ लाख ८३ हजार ५३२ किलो अलकत्रा आयात भएको छ । साथै कतारबाट १० करोड ९८ लाख ६० हजार बराबरको १४ लाख २ हजार ७०९ किलो अलकत्रा आयात भएको विवरणले देखाएको छ । उक्त परिमाणको अलकत्रा आयातबाट सरकारले यो अवधिमा १ अर्ब ११ करोड ५ लाख ४५ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।