विदेशी मुद्रा सञ्चिति लगातार बढ्यो, माघ महिनामा थपियो २० करोड डलर

-



     सफल आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ फागुन । लगातार ५ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले झण्डै १० महिना आयात प्रतिबन्ध गरेको थियो । उक्त प्रतिबन्ध गत पुसदेखि खुलाए पनि डलर सञ्चिति बढ्ने क्रमले भने निरन्तरता पाएको हो ।

चालु आर्थिक वर्ष सुरु भए यता लगातार डलर सञ्चितिमा लगातार ओरालो यात्रा शुरु भएकोमा गत असोजदेखि भने यो यात्रा उकालिन थालेको थियो । सोही उकालिने प्रवृत्तिले गत असोजदेखि चालु आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म अविच्छिन्न रुपमा निरन्तरता पाएको हो । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्नुलाई प्रमुख कारक मानिएको छ ।

राष्ट्रिय ढुकुटीमा गत असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड र पुसमा ४८ करोड डलर थपिएको थियो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सातौं महिनासम्म वित्तीय विवरण अनुसार पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीमा २० करोड डलर थपिएको पाइएको छ ।

पुस मसान्तसम्म कुल डलर संचिति १० अर्ब ३० करोड रहेकोमा माघ मसान्त आइपुग्दा २० करोडले बढेर १० अर्ब ५० करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति रहेको विवरणमा उल्लेख छ ।

समग्र विदेशी मुद्रा सञ्चितिमा पनि सुधार देखिएको छ । गत असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएर माघ मसान्तसम्ममा १३८३ अर्ब ३३ करोड पुगेको पाइएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेको थियो । यो आँकडा माघ मसान्तमा आइपुग्दा १६.२ प्रतिशतले वृद्धि भएर १२२८ अर्ब ५ करोड पुगेको छ ।

यसैगरी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेको थियो । यो आँकडा २०७९ माघ मसान्तमा आइपुग्दा भने २.६ प्रतिशतले घटेर १५५ अर्ब २८ करोडमा आइपुगेको छ ।