
बेलबारी, २९ फागुन । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चित गर्न मौरीले पनि अहम भूमिका खेल्ने गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछन् ।
मोरङको लेटाङ नगरपालीका भित्रबाट मात्रै व्यावसायिक किसानले उत्पादन गरेको महऔषतमा वार्षिक आठ सय क्वीन्टलभन्दा बढी पालिका बाहिर निर्यात हुने गरेको लेटाङ नगरपालिकाले जनाएको छ । तर विगतका वर्षमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने संकेत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोखरेल बताउछन्।
जङ्गली फूल फुल्नु अगाडि पानी पर्न नसक्दा बोटविरुवाका फूल सुक्न थालेकाले मौरीलाई चरणको अभाव भएको कारण मह कम उत्पादन हुने सङ्केत देखिएको पोखरेल बताउछन्। विसं २०५८ देखि लगातार मौरीपालन गर्दै आएका पोखरेलले दुई सय ५० घारभन्दा बढी मौरी पालेर वार्षिक ३० देखि ३५ क्वीन्टलभन्दा बढी मह उत्पादन गरिरहेको बताए। तोरीको समयमा मात्रै २० क्वीन्टल मह उत्पादन गरेको उनले दाबी गरे।
तोरीको फूल फुल्ने समयभन्दा अन्य समयमा मह कम उत्पादन हुने गर्छ । वार्षिक रु १२–१३ लाख कमाइ हुने गरेको पोखरेल बताउछन्। “हाल औषत आठ सयको दरले मह बिक्री गर्ने गरेको र सम्पूर्ण खर्च कटाएर प्रतिकिलो रु तीन सय नाफा हुने गरेको छ”, उनले भने। नेपालमा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गर्नुपर्ने पोखरेलले बताए। उनका अनुसार नेपालका चारकोसे झाडी तथा जङ्गलमा चराएका मौरीको महमा औषधी नै हुन्छ ।
मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ । चरण क्षेत्रमा लगाइएका बालीमा प्रयोग हुने विषादीका कारण मौरीमा प्रतिकूल असर परी मौरीपालन व्यवसायी मारमा पर्दै आएको मौरी चरण क्षेत्र बेलबारी ११ भाङबारीका जीवन अधिकारीले बताए।
विदेशी कम गुणस्तरीय मह स्वदेशी बजारमा छ्यापछ्याप्ति भित्रिनुले स्वदेशी महले उचित मूल्य पाउन नसकेको किसान इमनाथ पोखरेलले बताए। स्वदेशी महको गुणस्तर मापन गरेर ग्राहकसम्म पुर्याउन सरकारले भूमिका खेलिदिए कृषकलाई राहत पुग्ने उनले बताए। निजी क्षेत्रबाट गोल्छा अर्गनाइजेशन कम्पनी र मह कृषकबीच सम्झौता भएको लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठले बताए। तर यसको कार्यान्वयन भने अझै हुन सकेको छैन ।
मह परीक्षण ल्याव स्थापना गर्न ढिलाइ भएको कारण देखाउँदै उक्त कम्पनी पन्छिएको कृषक इमनाथ पोखरेलको आरोप छ । लेटाङ नगरपालिका क्षेत्रभित्र एक हजार पाँच सयभन्दा धेरै व्यावसायिक मौरीका घार छन् । जसमध्ये १० मौरीपालन फर्म र एउटा मौरीपालन समूह छन् । वडा नम्वर १, २, ५ र ६ का कृषक मिलेर उक्त मौरीपालन समूह सञ्चालन गरिरहेका छन् ।
महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी, सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ । महमा ११ वटा महत्वपूर्ण मिनिरल्स पाइन्छ, जुन मानव शरीरको बनावट र विकासका लागि निकै आवश्यक छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




