नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब १२ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । बजारको नकारात्मक लयको कारण लगानीकर्ताहरु अझैं पर्ख र हेरको अवश्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.१४ अंकले घटेर १९३२.४८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.६७ विन्दुमा रहेको छ ।

यसदिन कुल २५७ कम्पनीको सेयर कारोबार उनीहरुको ३३ लाख ४१ हजार १२९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १२ करोड ९ हजार ८२४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये चार वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । अन्य बाँकी ९ वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ४ करोड ९३ लाख ३५ हजार ११९ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयरमूल्य ५.७६ प्रतिशतले घटेको छ ।